Politics · September 6, 2026 · 8 min read

प्रश्न गर्न बिर्सिएको समाज: “किन?” भन्न किन डर?

By Bipin Biswas Rayamajhi

प्रश्न गर्न बिर्सिएको समाज: “किन?” भन्न किन डर?

एउटा बच्चा परिवारमा हुर्किन्छ। उसले केही कुरा बुझ्दैन र सोध्छ, “किन?” कहिलेकाहीँ उसले पाउने उत्तर हुन्छ, “यस्तै हो”, “ठूला मान्छेले भनेपछि मान्नुपर्छ।” विद्यालय पुगेपछि उसले फेरि प्रश्न गर्छ। त्यहाँ पनि कतिपय अवस्थामा सही उत्तर जान्नु महत्वपूर्ण हुन्छ, तर त्यो उत्तरसम्म पुग्न सही प्रश्न कसरी गर्ने भन्ने कुरा त्यति धेरै सिकाइँदैन।

समाजमा अलि ठूलो भएपछि उसले कुनै परम्परा, चलन वा सामाजिक व्यवहारबारे प्रश्न गर्छ। राजनीतिमा पुगेपछि कुनै नेतासँग प्रश्न गर्छ। तर धेरैपटक प्रश्नलाई जिज्ञासाका रूपमा भन्दा विरोधका रूपमा बुझिन्छ।

हामी कुनै कुरा मन नपरेमा विरोध गर्न सक्छौँ। असन्तुष्टि व्यक्त गर्न सक्छौँ। आलोचना गर्न सक्छौँ। कहिलेकाहीँ गाली पनि गर्छौँ। तर त्यसको कारण के हो भनेर प्रश्न गर्ने, त्यसको जरोसम्म पुग्ने र समाधान खोज्ने अभ्यास हामीमा कति छ?सायद यहीँबाट एउटा प्रश्न सुरु हुन्छ- हामी उत्तर खोज्न धेरै व्यस्त छौँ, तर प्रश्न गर्न कति सिकेका छौँ?

प्रश्न किन महत्त्वपूर्ण छ?

प्रश्न गर्नु भनेको केवल केही कुरा सोध्नु मात्र होइन। 

यो कुनै पनि कुरा बुझ्ने पहिलो प्रयास हो।

एउटा बच्चाले संसार चिन्न “किन?” बाट सुरु गर्छ। जिज्ञासा प्रश्नमा आउँछ, प्रश्नले सोच्न बाध्य बनाउँछ, सोचले अनुसन्धानतर्फ लैजान सक्छ र अनुसन्धानले नयाँ ज्ञानको बाटो खोल्छ। कहिलेकाहीँ प्रश्न असहमतिको सुरुवात पनि हुन सक्छ। कहिलेकाहीँ आफ्नै विश्वासमाथि आत्मपरीक्षण गर्ने अवसर पनि।

तर हाम्रो सामूहिक जीवनमा प्रश्नलाई हामीले धेरैपटक विरोध, अवज्ञा, नकारात्मकता वा असम्मानका रूपमा बुझ्ने गर्छौँ। कसैले प्रश्न गर्‍यो भने उसले अस्वीकार गरिरहेको छ भन्ने बुझिन्छ। आफूले विश्वास गरेको कुरा प्रश्न गरियो भने त्यसलाई व्यक्तिगत चुनौतीका रूपमा लिन सक्छौँ।

तर प्रश्नको उद्देश्य सधैँ विरोध गर्नु होइन।

“किन यस्तो भयो?”

“यसको कारण के हो?”

“वास्तवमा के भइरहेको छ?”

“यसलाई अर्को तरिकाले पनि हेर्न सकिन्छ कि?”

“यसलाई अझ राम्रो कसरी बनाउन सकिन्छ?”

यी प्रश्नहरू कसैलाई गलत सावित गर्नभन्दा कुनै कुरा अझ राम्रोसँग बुझ्ने प्रयास हुन्।त्यसैले प्रश्न गर्नु जीवन बुझ्ने एउटा महत्वपूर्ण माध्यम हो। यसले आफूलाई बुझ्न, अरूलाई बुझ्न, गल्ती पहिचान गर्न, नयाँ कुरा सिक्न र आवश्यक पर्दा आफ्नो सोचलाई परिवर्तन गर्न मद्दत गर्छ।प्रश्नको मूल्य त्यसले तुरुन्तै दिएको उत्तरमा मात्र हुँदैन। कहिलेकाहीँ एउटा राम्रो प्रश्नले हामीलाई पुरानो उत्तरभन्दा बाहिर निस्किएर सोच्न सिकाउँछ।

हामी कहाँ र किन प्रश्न गर्न डराउँछौँ?

यदि प्रश्न गर्नु मानिसले संसार बुझ्ने स्वाभाविक तरिका हो भने, हामी कहाँ गएर प्रश्न गर्न डराउन थाल्छौँ? सायद यसको सुरुवात परिवारबाटै हुन्छ। हामीले ठूलालाई सम्मान गर्न सिक्छौँ, जुन आवश्यक पनि छ। तर धेरैपटक सम्मान र प्रश्नलाई एकअर्काको विपरीत ठानिन्छ। “ठूलालाई किन प्रश्न गर्ने?” भन्ने सोचले कुनै कुरा किन यस्तो छ भनेर बुझ्न खोज्ने जिज्ञासालाई नै रोकिदिन सक्छ।

सम्मान गर्नु र प्रश्न गर्नु एकअर्काका विरोधी होइनन्। कुनै सम्बन्धमा प्रश्न गर्न सक्ने ठाउँ हुनु पनि त्यस सम्बन्धको परिपक्वताको एउटा हिस्सा हुन सक्छ। विद्यालयमा पुग्दा अर्को किसिमको दबाब भेटिन्छ। सही उत्तर दिनु महत्वपूर्ण हुन्छ। तर सही प्रश्न गर्नु कति महत्वपूर्ण छ?

परीक्षा, अंक र पाठ्यक्रमको दबाबबीच विद्यार्थीले “किन?” भन्दा “यसको सही उत्तर के हो?” खोज्न बढी सिकिरहेको त छैन? प्रश्न गर्ने विद्यार्थीलाई जिज्ञासु विद्यार्थीका रूपमा हेर्ने कि अनुशासनमा समस्या ल्याउने विद्यार्थीका रूपमा? समाजमा पनि बहुमतको आफ्नै शक्ति हुन्छ। धेरै मानिसले स्वीकार गरेको कुरा फरक तरिकाले हेर्दा सामाजिक दबाब आउन सक्छ। “सबैले यस्तो नै मान्छन्” भन्ने कुरा आफैँमा कुनै विचार सही भएको प्रमाण होइन। तर फरक प्रश्न उठाउने व्यक्ति भने धेरैपटक असहज मानिन सक्छ।

उस्तै गरि राजनीतिमा त यो अझ स्पष्ट देखिन सक्छ। कुनै नेताको निर्णय वा विचारमाथि प्रश्न गर्दा त्यसलाई तथ्य वा जिज्ञासाको रूपमा भन्दा समर्थक वा विरोधीको चस्माबाट हेर्ने प्रवृत्ति देखिन्छ। प्रश्न गर्नेबित्तिकै “कुन पक्षमा?” भन्ने प्रश्न आउन थाल्छ। यस्तो वातावरणमा मानिसले सत्य बुझ्न प्रश्न गर्नेभन्दा आफ्नो पक्ष सुरक्षित राख्न बोल्न थाल्न सक्छ।र अहिले डिजिटल संसारले प्रश्न गर्ने हाम्रो क्षमतालाई अर्को तरिकाले चुनौती दिइरहेको छ।

सामाजिक सञ्जालमा हामी आफ्नै विचार बनाइरहेका छौँ कि हामीलाई मन पर्ने विचारहरू नै फेरि–फेरि देखाइँदैछन्? हामीले आफूले खोजेको सूचना पाइरहेका छौँ कि algorithm ले हाम्रो विश्वाससँग मिल्ने सूचना अझ धेरै देखाइरहेको छ? यी सबै ठाउँ फरक छन्, तर प्रश्न एउटै छ: के हामी आफूले विश्वास गरेको कुरामा पनि स्वतन्त्र रूपमा प्रश्न गर्न सक्ने अवस्थामा छौँ?

बौद्धिक स्वतन्त्रता भनेको सबै कुरा अस्वीकार गर्नु होइन। यसको अर्थ आफ्नो विचार राख्ने, फरक विचार सुन्ने र आवश्यक पर्दा आफ्नै विचारमाथि पनि प्रश्न गर्न सक्ने स्वतन्त्रता हो।

के हरेक कुरामा प्रश्न गर्नु राम्रो हो?

प्रश्न गर्नु आवश्यक छ भन्दैमा हरेक स्थापित कुरा गलत छन् भन्ने निष्कर्षमा पुग्नु पनि सही होइन।समाजमा बनेका सबै परम्परा गलत हुँदैनन्। सबै संस्था खराब हुँदैनन्। बहुमतले स्वीकार गरेको हरेक विचार गलत हुँदैन।प्रश्न गर्ने संस्कृतिको कुरा गर्दा हामी यी सबै कुरालाई अस्वीकार गर्ने संस्कृतिको वकालत गरिरहेका छैनौँ।

प्रश्नको उद्देश्य कुनै कुरालाई गलत सावित गर्नु मात्र होइन। यसको उद्देश्य त्यसलाई अझ राम्रोसँग बुझ्नु हो।कुनै परम्परा किन बन्यो? त्यसले समाजलाई के दिएको छ? आज पनि त्यसको आवश्यकता छ कि छैन? कुनै संस्था किन आवश्यक छ? त्यसले आफ्नो उद्देश्य पूरा गरिरहेको छ कि छैन? बहुमतले स्वीकार गरेको विचारको आधार के हो? यस्ता प्रश्नहरूले हामीलाई अस्वीकारभन्दा पनि बुझाइतर्फ लैजान्छन्।

त्यसैले प्रश्न गर्नु भनेको आफूले विश्वास गरेको कुराको विरोध गर्नु होइन। बरु, आफूले विश्वास गरेको कुरा किन विश्वास गर्छु भनेर आफैँसँग प्रश्न गर्न सक्ने क्षमता हो।हामीले अरूको विचारलाई मात्र होइन, आफ्नो विचारलाई पनि जाँच्न सक्नुपर्छ। प्रमाण भेटिएपछि आफ्नो धारणा बदल्न सक्नुपर्छ। कहिलेकाहीँ प्रश्न गरेपछि पुरानै निष्कर्ष सही देखिन सक्छ। कहिलेकाहीँ त्यसलाई सुधार्नुपर्ने हुन सक्छ। र कहिलेकाहीँ आफ्नो धारणा नै बदल्नुपर्ने हुन सक्छ।

सायद प्रश्न गर्ने संस्कृतिको वास्तविक अर्थ यही हो- सबै कुरा गलत देख्नु होइन, कुनै कुरा सही छ भनेर स्वीकार गर्नुअघि त्यसलाई सोच्ने, जाँच्ने र बुझ्ने क्षमता विकास गर्नु नै यसको विशेषता हो।

प्रश्न कम हुँदै जाँदा।

कुनै समाजमा प्रश्न गर्ने ठाउँहरू कम हुँदै गए भने के हुन्छ?

सायद सबैभन्दा पहिले जिज्ञासा कमजोर हुन सक्छ। मानिसले कुनै कुरा बुझ्नुभन्दा त्यसलाई स्वीकार गर्न वा अस्वीकार गर्न मात्र सिक्न सक्छ। आलोचनात्मक सोचका लागि आवश्यक त्यो बीचको ठाउँ—जहाँ हामी केही समय रोकिन्छौँ, सुन्छौँ, सोच्छौँ र फेरि प्रश्न गर्छौँ- बिस्तारै साँघुरिन सक्छ।

प्रश्न नहुँदा संवाद पनि कमजोर हुन सक्छ। संवाद नहुँदा फरक विचारहरू एकअर्कासँग भेट्ने अवसर कम हुन्छ। त्यस्तो अवस्थामा प्रमाण वा अनुभवबाट जाँचिनुपर्ने कतिपय धारणा पर्याप्त छलफल वा परीक्षणबिना नै दोहोरिँदै स्थापित हुन सक्छन्।हामीले विश्वास गरेको कुरा सही हो कि होइन भनेर जाँच्नेभन्दा, त्यसलाई समर्थन गर्ने कारण मात्र खोज्न थाल्न सक्छौँ।

यसको असर व्यक्तिगत सोचमा मात्र सीमित हुँदैन। प्रश्न गर्ने नागरिक, विद्यार्थी, कर्मचारी वा समुदायको आवाज कमजोर हुँदै जाँदा संस्थाहरूलाई पनि आफ्ना निर्णय र कामबारे जवाफ दिनुपर्ने दबाब कम हुन सक्छ। नयाँ विचार आउन, पुरानो अभ्यास सुधारिन वा फरक सम्भावना खोजिन कठिन हुन सक्छ।

तर यहाँ फेरि प्रश्न विरोध र समर्थन दुवै संस्कृतिको हो।

सधैँ विरोध गर्ने संस्कृति पनि स्वस्थ हुँदैन। सधैँ समर्थन गर्ने संस्कृति पनि होइन।समाजलाई आवश्यक कुरा भनेको प्रश्न गर्न सक्ने, असहमति राख्न सक्ने र त्यसपछि संवाद गर्न सक्ने संस्कृति हो।किनकि प्रश्नको अन्तिम उद्देश्य कसैलाई हराउनु होइन; बरु बुझाइलाई अगाडि बढाउनु हो। संवादको उद्देश्य पनि सबैलाई एउटै विचारमा ल्याउनु मात्र होइन; फरक विचारबीचबाट अझ राम्रो बिचार निकाल्नु हो।

त्यसैले प्रश्न र संवादलाई हामीले केवल विवादका साधनका रूपमा होइन, समाज आफैँलाई सुधार्दै जाने प्रक्रियाका महत्वपूर्ण माध्यमका रूपमा हेर्न आवश्यक छ।

प्रश्न गर्न सिक्नु भनेको के हो?

त्यसो भए प्रश्न गर्न सिक्नु भनेको वास्तवमा के हो?

सायद यसको सुरुवात अरूको विचारमाथि प्रश्न गर्नुभन्दा पहिले आफ्नै विचारमाथि प्रश्न गर्नबाट हुन्छ।मैले यो कुरा किन विश्वास गरिरहेको छु? मेरो विश्वासको आधार के हो? मैले सुनेको, पढेको वा देखेको कुरामध्ये कति कुरा मैले आफैँ जाँचेको छु?

यस्ता प्रश्न आफूलाई सोध्न सक्नु नै सोच्ने अभ्यासको एउटा महत्वपूर्ण हिस्सा हो।प्रश्न गर्न सिक्नु भनेको आफ्नो निष्कर्षमा मात्र अडिग रहनु होइन। यसको अर्थ उत्तर सुन्ने धैर्य राख्नु पनि हो। आफूभन्दा फरक विचार सुन्न सक्नु, प्रमाण भेटिएपछि आफ्नो धारणा बदल्न सक्नु र आवश्यक पर्दा “मलाई थाहा छैन” भन्न सक्नु पनि प्रश्न गर्ने संस्कृतिकै एक महत्त्वपूर्ण हिस्सा हो।

हामीले धेरैपटक सबै कुराको उत्तर थाहा भएको देखिनुलाई क्षमता ठान्छौँ। तर कुनै कुरा थाहा छैन भनेर स्वीकार गर्न सक्नु पनि ज्ञानप्रतिको इमानदारी हो।वास्तवमा, “मलाई थाहा छैन” भन्न सकिएपछि नै “अब म जान्न चाहन्छु” भन्ने जिज्ञासाको ठाउँ खुल्छ। त्यसैगरी, प्रश्न गर्ने व्यक्तिलाई शत्रु ठान्नु पनि हुँदैन। उसले हाम्रो विचारलाई चुनौती दिएको हुन सक्छ, तर त्यसले हाम्रो अस्तित्वलाई चुनौती दिएको हुँदैन। यसर्थ यो बुझ्नुपर्छ कि फरक प्रश्नले कहिलेकाहीँ हामीले नदेखेको पक्ष देखाउन सक्छ।

सायद प्रश्न गर्न सिक्नुको अर्थ के सोच्ने भन्ने सिक्नु होइन, कसरी सोच्ने भन्ने सिक्नु हो।यही क्षमताले मानिसलाई आफ्नो विचार बनाउने, त्यसलाई जाँच्ने र आवश्यक पर्दा सुधार्ने स्वतन्त्रता दिन्छ।र समाजको सन्दर्भमा यसको महत्व अझ ठूलो हुन्छ। प्रश्नले संवाद सुरु गर्न सक्छ। संवादले बुझाइ बढाउन सक्छ। र बुझाइले समाधान खोज्ने सम्भावना खोल्न सक्छ।

प्रश्न आफैँ समाधान होइन। 

तर प्रश्नबिना समाधान खोज्ने यात्रा सम्भव हुदैन।

हामी कस्तो समाज बनाउन चाहन्छौँ?

हामी आफ्ना सन्तानलाई धेरै कुरा सिकाइरहेका हुन्छौँ। सही उत्तर के हो, कसरी सफल हुने, कसरी राम्रो अंक ल्याउने, कसरी राम्रो जागिर पाउने, समाजमा कसरी अघि बढ्ने—हामी उनीहरूलाई धेरै जवाफहरू दिन्छौँ।तर उनीहरूलाई सही प्रश्न गर्न कति सिकाइरहेका छौँ? सायद यही प्रश्नमा हाम्रो परिवार, हाम्रो शिक्षा र हाम्रो समाजको एउटा ठूलो जिम्मेवारी जोडिएको छ।

किनकि प्रश्नबिना उत्तरहरू केवल दोहोरिन सक्छन्। प्रश्नबिना संवादको ठाउँ साँघुरिन सक्छ। र संवादबिना हामीले समाजमा देखिएका समस्याहरूलाई नयाँ ढंगले बुझ्ने र समाधान खोज्ने अवसर गुमाउन सक्छौँ।

त्यसैले हामीले प्रश्नलाई विरोधको भाषा होइन, सिकाइ र संवादको भाषा बनाउन आवश्यक छ। असहमतिको अर्थ दुश्मनी होइन भन्ने बुझ्न आवश्यक छ। आफ्नो विचार राख्ने मात्र होइन, त्यसलाई प्रश्न गर्न र आवश्यक पर्दा बदल्न सक्ने संस्कार पनि विकास गर्न आवश्यक छ।

एउटा विचारशील समाज त्यो होइन जहाँ सबैसँग एउटै उत्तर हुन्छ। एउटा सभ्य समाज त्यो पनि होइन जहाँ असहमति हुँदैन।बरु, एउटा विचारशील र सभ्य समाज त्यो हो जहाँ मानिसहरू फरक–फरक प्रश्न सोध्न स्वतन्त्र हुन्छन्; जहाँ प्रश्नले संवाद जन्माउँछ, संवादले बुझाइ बढाउँछ र त्यही बुझाइबाट समाधान खोज्ने बाटो खुल्छ।

त्यसैले अन्तिम प्रश्न सायद हामी आफैँसँग गर्नुपर्ने हो-

हामी कस्तो समाज बनाउन चाहन्छौँ?

जहाँ मानिसहरू उत्तरहरू दोहोर्याइरहन्छन्? कि यस्तो समाज, जहाँ मानिसहरू प्रश्न गर्न सक्छन्, सुन्न सक्छन्, सिक्न सक्छन्, आफ्ना विचार बदल्न सक्छन् र संवादमार्फत आफ्ना साझा समस्याहरूको समाधान खोज्न सक्छन्?सायद परिवर्तनको सुरुवात कुनै ठूलो उत्तरबाट होइन। एउटा सही प्रश्नबाट हुन्छ।

 

Bipin Biswas Rayamajhi

About the author

Bipin Biswas Rayamajhi

View all posts →