IT · November 5, 2026 · 14 min read

नयाँ पुस्तालाई हामी बुझिरहेका छौँ कि, आफ्नै चस्माले हेरिरहेका छौँ?

By Bipin Biswas Rayamajhi

नयाँ पुस्तालाई हामी बुझिरहेका छौँ कि, आफ्नै चस्माले हेरिरहेका छौँ?

म आज एउटा अलि फरक तर महत्त्वपूर्ण विषयमा केही लेख्न आएको छु । केही वर्षअघिको कुरा हो । मैले आफ्नै भान्जालाई सोधेँ, “भान्जा, ठूलो भएर के बन्ने ?”
उनले केहीबेर सोचेर भने, “अँ… म ड्राइभर बन्ने मामा ।”

उनको त्यो जवाफ सुन्दा मलाई रमाइलो लाग्यो । एउटा सानो बच्चाको सपना कति सरल हुन सक्छ भन्ने लाग्यो । तर त्यसपछि एउटा प्रश्न मनमा आयो—हामी बच्चालाई “तिमी के बन्न चाहन्छौ ?” भनेर त सोध्छौँ, तर “तिमी त्यही किन बन्न चाहन्छौ ?” भनेर कति पटक सोध्छौँ ?

हालसालै म मेरो मामाको छोरासँग यस्तै कुराकानी गर्दै थिएँ । मैले सोधेँ, “कान्छा, अब के गर्ने ? कहाँ जाने ? के पढ्ने ?”
उसले सहजै भन्यो, “म यहाँ नबस्ने, विदेश जाने दाइ !”
मैले फेरि सोधेँ, “विदेश किन जान चाहन्छौ ?”
त्यहाँ भने उसको उत्तर त्यति स्पष्ट थिएन ।

विदेश जान चाहनु आफैँमा गलत होइन । आजका युवाका आफ्ना सपना, चाहना र बाध्यता छन् । तर मलाई त्यहाँ एउटा अर्को प्रश्नले छोयो—हामीले आफ्ना चाहनाको कारण खोज्न पनि सिकेका छौँ कि केवल चाहना राख्न मात्र सिकेका छौँ ?

आज यही चाहनाको दौडमा लाखौँ नेपाली विद्यार्थी विदेशका गल्ली र चोकमा पुगेका छन् । त्यसैले विदेश जाने निर्णयलाई सही वा गलत भनेर फैसला गर्नु मात्र पर्याप्त छैन । उनीहरू किन जान चाहन्छन्, उनीहरू के खोजिरहेका छन् र उनीहरूको भविष्यको कल्पना कस्तो छ—यो बुझ्नु पनि उत्तिकै आवश्यक छ । शायद यिनै प्रश्नहरूले होला, मलाई आफूभन्दा पछाडिको पुस्तासँग अझ नजिक भएर कुरा गर्नुपर्छ भन्ने लागिरह्यो । म सानैदेखि आफ्ना घर–छिमेकका भाइहरूसँग घुलमिल हुन रुचाउने मान्छे हुँ । उनीहरूको कपाल काटिदिने, उनीहरूसँग बस्ने, घुम्ने, कुरा गर्ने र साना नानीबाबुसँग समय बिताउने मेरो पुरानै बानी हो ।

तर पछिल्लो समय यो मेरो लागि केवल आत्मीय सम्बन्धमा सीमित छैन । म सामाजिक जीवनमा केही गर्न चाहन्छु भने मेरो पुस्तासँग मात्र जोडिएर पुग्दैन भन्ने लाग्छ । आफूभन्दा अगाडिको पुस्तासँगको सम्बन्ध मजबुत हुनु आवश्यक छ । उनीहरूको अनुभव, संघर्ष र सिकाइबाट हामीले धेरै कुरा सिक्नुपर्छ । तर आफूभन्दा पछाडि आउँदै गरेको पुस्तासँगको सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण छ । किनकि उनीहरू भोलिको समाज मात्र होइनन्, आजकै समाजको एउटा ठूलो हिस्सा हुन्।

त्यसैले म भर्खरै ११-१२ कक्षामा पढिरहेका भाइहरूलाई फोन गर्छु । ब्याचलर्स पढिरहेका युवासँग कुरा गर्छु । १८–२० वर्षका भाइहरूसँग भेट्छु, घुम्छु, बस्छु । उनीहरूले के सोचिरहेका छन्, के गर्न खोजिरहेका छन्, आफ्नो भविष्यलाई कसरी हेरिरहेका छन्, समाज र राजनीतिलाई कसरी बुझिरहेका छन्—यी कुराहरू उनीहरूकै तर्फबाट जान्न मलाई बडो रुचि लाग्छ । यसको अर्थ मलाई साथीको कमी भएर उनीहरूसँग जोडिन मन लागेको होइन । बरु म उनीहरूलाई बुझ्न चाहन्छु । उनीहरूको पुस्ताको सोच जान्न चाहन्छु । उनीहरूले परिवर्तनलाई कसरी हेर्छन् भनेर बुझ्न चाहन्छु । उनीहरूको चाहना, आकांक्षा र अन्योललाई नजिकबाट नियाल्न चाहन्छु ।

केही दिनअघि मभन्दा झन्डै दश वर्ष कान्छी बहिनीसँग स्थानीय तहको शिक्षा प्रणालीबारे लामो कुराकानी भयो । अहिलेको शिक्षा प्रणाली कस्तो छ, उनको पुस्ताले कस्तो शिक्षा पाउनुपर्छ र स्थानीय तहले शिक्षा सुधारमा के गर्न सक्छ भन्ने विषयमा हामीले निकै लामो छलफल गर्‍यौँ । मैले सोचेको थिएँ, सामान्य विचारहरू आउलान् । तर उनले आफ्नो पुस्ताको आँखाबाट शिक्षा प्रणालीलाई जसरी व्याख्या गरिन्, त्यसले मलाई सोच्न बाध्य बनायो । उनले केवल “शिक्षा सुधार हुनुपर्छ” भनिनन्; कस्तो शिक्षा चाहिन्छ, अहिलेको प्रणाली कहाँ चुकेको छ, स्थानीय तहमा सामुदायिक शिक्षामा के परिवर्तन आवश्यक छ भन्ने विषयमा आफ्नै तर्कसहित कुरा गरिन् । त्यसपछि मलाई लाग्यो— नयाँ पुस्तासँग प्रश्न मात्रै छैन, उनीहरूसँग आफ्नै उत्तर खोज्ने क्षमता पनि छ ।

केही दिनअघि म केही भाइहरूसँग घुम्न गएको थिएँ । पछि उनीहरूसँग खिचिएका केही तस्बिर हेर्दै गर्दा मलाई आफैँलाई एउटा प्रश्न आयो—म किन उनीहरूसँग यति सहज भएर घुलमिल हुन चाहन्छु ? शायद यसको उत्तर उनीहरूसँगको सम्बन्धमै छ । उनीहरूले मलाई आफ्नो साथी जस्तो मान्छन् । आफ्ना कुरा गर्छन् । आफ्ना योजना सुनाउँछन् । आफूलाई मन परेको कुरा भन्छन्, मन नपरेको कुरामा असहमति राख्छन् । बाहिरबाट हेर्दा ती भाइहरूलाई कसैले पनि हामीले परम्परागत रूपमा कल्पना गर्ने ‘सिधा–साधा’ पुस्ताका युवाजस्तो नठान्न सक्छ । उनीहरूको हाउभाउ फरक छ, बोल्ने शैली फरक छ, देखिने तरिका फरक छ । तर उनीहरूसँग नजिक भएर समय बिताउँदा मैले देखेको तस्वीर अर्कै छ ।

उनीहरू अत्यन्तै कोमल मनका छन् । संवाद गर्न सहज छन् । आफ्ना कुरा मात्र होइन, अरूका कुरा पनि सुन्न खोज्छन् । उमेरको दूरीलाई पर्खाल बनाउन चाहँदैनन् । त्यसैले मैले एउटा कुरा बुझेको छु—फोटोले मानिसको बाहिरी रूप देखाउन सक्छ, तर उसको नियत, संवेदना र सोच बुझ्न उसको संगत गर्नुपर्छ । शायद हामीले नयाँ पुस्ताका बारेमा बनाएको तस्वीर र उनीहरू वास्तवमै जस्ता छन्, यी दुईबीच धेरै ठूलो दूरी हुन सक्छ । हामीले नयाँ पुस्तालाई हेर्ने चश्मा नै बदलिएको हो कि ? हामीभन्दा अगाडिको पुस्ताले पनि हामीलाई हेरेर भन्थ्यो— “आजका युवाहरू पहिलेका जस्ता रहेनन् ।”

आज हामी पनि आफूभन्दा पछाडिको पुस्तालाई हेरेर त्यही भन्न थालेका छौँ ।
“आजका बच्चाहरू मोबाइलमै हुन्छन् ।”
“परिवारसँग बस्दैनन् ।”
“हाम्रो कुरा सुन्दैनन् ।”
“संस्कारबाट टाढिँदैछन् ।”
“आफ्नै संसारमा रमाउँछन् ।”

शायद यीमध्ये केही कुरा सही पनि होलान् । नयाँ पुस्तामा कमजोरी छैन भन्न खोजेको होइन । तर प्रश्न यति मात्रै हो— के उनीहरू साँच्चिकै यस्तै छन् ? वा हामीले उनीहरूलाई हेर्ने चश्मा नै यस्तै भएको हो ?

पछिल्लो समय नयाँ पुस्तालाई लिएर समाजमा उठेका बहसहरू हेर्दा यो प्रश्न झन् गहिरो लाग्छ । विशेषगरी Gen Z आन्दोलनपछि नयाँ पुस्तामाथि धेरै प्रकारका टिप्पणी भए । उनीहरू उग्र छन्, असभ्य छन्, अनुशासन मान्दैनन्, पुराना मूल्य–मान्यताबाट टाढा छन् भन्ने धारणा धेरै सुनियो । तर मैले उनीहरूसँग नजिक भएर समय बिताउँदा देखेको तस्वीर त्यति सरल छैन ।उनीहरूमा आवेग छ । कहिलेकाहीँ छिटो परिणाम खोज्ने स्वभाव छ । आफ्नै तरिकाले गर्न खोज्ने जिद्दी पनि छ । तर त्यहीभित्र असाधारण उत्सुकता पनि छ ।

उनीहरू प्रश्न गर्छन् । जान्न खोज्छन् । नयाँ कुरा प्रयोग गर्न चाहन्छन् । आफ्नै तरिकाले केही गर्न चाहन्छन् ।कहिलेकाहीँ हामीले तीस वर्षको उमेरमा सोच्न नसकेका कुरा उनीहरूले अठार वर्षमै सोचिरहेका हुन्छन् । त्यसैले उनीहरूलाई केवल ‘बिग्रिएको पुस्ता’ भनेर एउटा शब्दमा परिभाषित गरिदिनु मलाई ठीक लाग्दैन । म उनीहरूको हरेक काम सही छ पनि भन्दिनँ । गलत लागेका कुरामा म उनीहरूसँग असहमत हुन्छु । कतिपय कुरा सच्याउने प्रयास पनि गर्छु । तर त्यसअघि एउटा कुरा गर्न चाहन्छु— उनीहरूले त्यो किन गरिरहेका छन् भनेर बुझ्न ।

किनकि व्यवहार देखेर फैसला गर्न सजिलो छ । कारण बुझ्न गाह्रो छ । र शायद हाम्रो समाजको एउटा कमजोरी यही हो—हामी मानिसले गरेको कामको फैसला छिटो गर्छौँ, तर उसलाई त्यो काम गर्नुपर्ने अवस्था किन आयो भनेर बुझ्न समय कम दिन्छौँ । नयाँ पुस्ताका सबै मानिस एउटै छैनन् । उनीहरूमा सम्भावना जति छ, कमजोरी पनि छन् । कतिपयमा अनुशासनको कमी छ, कतिपय निर्णयमा अपरिपक्वता छ, कतिपय अवस्थामा प्रविधिको गलत प्रयोग पनि छ । यी कमजोरीलाई ढाकछोप गरेर उनीहरूको पक्ष लिनु पनि ठीक होइन ।तर कमजोरी देखियो भन्दैमा पूरै पुस्तालाई गलत ठहर गर्नु पनि समाधान होइन ।

गलत व्यवहारलाई स्वीकार नगरी पनि गलत बाटोमा हिँडिरहेको मानिससँग संवाद गर्न सकिन्छ ।

जस्तै उनीहरूलाई सुन्न सकिन्छ । कारण बुझ्न सकिन्छ । जसका लागि सामाज एउटा राम्रो किताब, एउटा गहिरो कुराकानी, एउटा सही प्रश्न वा असल संगतले पनि मानिसलाई आफ्नो बाटो पुनर्विचार गर्ने अवसर दिन सक्छ । आखिर मानिसलाई बदल्ने सबैभन्दा प्रभावकारी माध्यम सधैँ गाली वा निर्देशन मात्र हुँदैन ।

कहिलेकाहीँ एउटा किताब, एउटा संवाद र एउटा असल संगतले पनि सोच्ने तरिका बदलिदिन सक्छ ।

उत्सुकता छ, तर दिशा के हो ?

नयाँ पुस्तामा उत्सुकताको कमी छैन । बरु कतिपय अवस्थामा हामीभन्दा धेरै उत्सुक छन् । उनीहरू केही जान्न चाहन्छन् । केही गर्न चाहन्छन् । नयाँ कुरा प्रयोग गर्न चाहन्छन् । आफ्नै तरिकाले बाटो खोज्न चाहन्छन् ।

तर उत्सुकता हुनु र आफ्नो बाटो भेट्टाउनु एउटै कुरा होइन ।

सबै उत्सुक मानिस आफ्नो गन्तव्यमा पुग्दैनन् । सबैले सही बाटो भेट्टाउँदैनन् । कतिपयले बाटो बदल्छन्, कतिपय अलमलिन्छन्, कतिपय गलत दिशामा पुग्छन् ।त्यसैले नयाँ पुस्ताको समस्यालाई केवल उनीहरूको व्यवहारमा खोजेर पुग्दैन । उनीहरू हुर्किरहेको वातावरण पनि हेर्नुपर्छ ।

हाम्रो शिक्षा प्रणालीले उनीहरूलाई के सिकाइरहेको छ ?
हाम्रो परिवारले के सिकाइरहेको छ ?
हाम्रो समाजले उनीहरूबाट के अपेक्षा गरिरहेको छ ?
हामीले बच्चालाई सानैदेखि भन्छौँ—पढ, राम्रो नम्बर ल्याऊ, परीक्षा पास गर, राम्रो जागिर खाऊ, सफल बन ।
तर हामीले त्यति नै जोडले कहिले भनेका छौँ—

प्रश्न गर ।
असहमति राख ।
प्रयोग गर । गल्ती गर ।
फेरि प्रयास गर ।
नयाँ कुरा सोच ।
शायद हाम्रो शिक्षाको एउटा कमजोरी यहीँ छ ।

हामीले उत्तर सिकायौँ, तर प्रश्न गर्न पर्याप्त सिकाएनौँ । ज्ञानलाई प्राथमिकता दियौँ, तर जिज्ञासालाई पर्याप्त ठाउँ दिएनौँ । सफल हुने बाटो देखायौँ, तर आफ्नै बाटो खोज्ने साहस कति दियौँ ?

नयाँ पुस्ताको उत्सुकता प्रविधि र करियरमा मात्र सीमित छैन । उनीहरू साहित्य, कला, विचार र नयाँ ज्ञानप्रति पनि उत्तिकै जिज्ञासु छन् । फरक यति हो- उनीहरूको सिक्ने र आफूलाई अभिव्यक्त गर्ने शैली हामीभन्दा फरक छ ।

उनीहरू किताबसँगै भिडियो, पोडकास्ट, सामाजिक सञ्जाल, अनलाइन सामग्री र अहिले AI मार्फत पनि सिकिरहेका छन् ।

त्यसैले उनीहरू ‘पढ्दैनन्’ भन्नुअघि हामीले एउटा प्रश्न सोध्नुपर्छ । उनीहरू पढिरहेका छैनन् कि हामीले पढाइ भनेर बुझेको तरिकाले पढिरहेका छैनन् ?

उनीहरूको कविता, गीत, र्‍याप, कला वा डिजिटल अभिव्यक्ति हामीलाई फरक लाग्न सक्छ । तर फरक हुनु सिर्जनशील नहुनु होइन ।उनीहरू केवल नयाँ पुस्ता होइनन्, सिक्दै, खोज्दै र आफ्नो बाटो बनाउँदै गरेको पुस्ता हुन् । यसर्थ शायद हाम्रो भूमिका उनीहरूलाई हरेक प्रश्नको उत्तर दिनु होइन, प्रश्न गर्न, खोज्न र सिकिरहन सक्ने उत्सुकता जोगाइदिनु हो ।

स्वतन्त्रता कि मार्गनिर्देशन?

नयाँ पुस्ता स्वतन्त्र हुन चाहन्छ । उनीहरू आफ्नै तरिकाले गर्न चाहन्छन् । उनीहरूलाई हरेक कुरा आदेश दिएर चलाउन खोज्दा प्रतिरोध गर्छन् ।तर पूर्ण रूपमा छोडिदिनु पनि समाधान होइन

किनकि स्वतन्त्रता भनेको दिशाविहीनता होइन ।

उनीहरूलाई निर्णय गर्न दिनुपर्छ, तर निर्णय गर्ने क्षमता पनि विकास गराउनुपर्छ । आफ्नै बाटो खोज्न दिनुपर्छ, तर विकल्प देखाउनुपर्छ । गल्ती गर्न दिनुपर्छ, तर गल्तीबाट सिक्ने वातावरण पनि दिनुपर्छ ।

त्यसैले दिशा देखाउनु र दिशा तोकिदिनु फरक कुरा हो ।

“यो नगर ।”
“त्यो हुँदैन ।”
“हाम्रो कुरा मान ।”
यो निर्देशन हो । तर—
“तिमी यो किन गर्न चाहन्छौ ?”
“यसरी गर्दा के होला ?”
“अर्को विकल्प पनि हेर्ने हो कि ?”

“तिमीलाई के लाग्छ ?”
यो संवाद हो ।

मलाई लाग्छ, नयाँ पुस्तासँगको हाम्रो सबैभन्दा ठूलो कमजोरी यही हो—हामी उनीहरूसँग कुरा गर्छौँ, तर उनीहरूसँग संवाद गर्दैनौँ ।
हामी भन्छौँ, “मोबाइल नचलाऊ ।” तर कहिल्यै सोध्छौँ, “तिमी मोबाइलमा के खोजिरहेका छौ ?”
हामी भन्छौँ, “विदेश नजाऊ ।” तर कहिल्यै सोध्छौँ, “तिमी विदेश किन जान चाहन्छौ ?”
हामी भन्छौँ, “यो विषय पढ ।” तर कहिल्यै सोध्छौँ, “तिमीलाई वास्तवमा के पढ्न मन छ ?”

यहीँबाट शिक्षा र परिवारको भूमिका जोडिन्छ । अभिभावकको भूमिका निर्णय गरिदिनु मात्र होइन, निर्णय गर्न सक्ने बनाउनु पनि हो । शिक्षकको भूमिका उत्तर सुनाउनु मात्र होइन, सही प्रश्न सोध्न सिकाउनु पनि हो ।

डिजिटल पुस्ता र AI को समय

आजको पुस्ता डिजिटल पुस्ता हो । उनीहरू फोनमै काम गर्छन्, ल्यापटपबाट सिक्छन्, सामाजिक सञ्जालबाट संसार बुझ्छन् र AI जस्ता प्रविधिसँग हामीले कल्पना नगरेको गतिमा नजिक भइरहेका छन् । यसलाई असामान्य मान्नु आवश्यक छैन ।

उनीहरू जुन समयमा जन्मिए, त्यो समयले उनीहरूलाई यही प्रविधि दिएको हो ।त्यसैले प्रश्न उनीहरूले प्रविधि प्रयोग गरे कि गरेनन् भन्ने होइन ।

प्रश्न हो—उनीहरूले प्रविधि प्रयोग गरेर के गरिरहेका छन् ? त्यही प्रविधि प्रयोग गरेर संसारभर काम गरिरहेका युवाहरू छन् । डिजिटल व्यवसाय गरिरहेका छन् । नयाँ सिर्जना गरिरहेका छन् । उद्यम गरिरहेका छन् ।तर त्यही प्रविधिको गलत प्रयोगबाट ठूलो रकम गुमाउनेहरू पनि छन् । सूचना र ज्ञानको बीचमा अलमलिनेहरू छन् । निरन्तर स्क्रोल गर्दागर्दै आफ्नै सोच्ने समय गुमाउनेहरू छन् । त्यसैले मोबाइल ,AI वा प्रविधि पनि समस्या होइन ।

प्रश्न प्रविधिसँगको हाम्रो सम्बन्ध हो ।

उनीहरूको सिर्जनशीलता बढिरहेको छ कि निष्क्रियता? ज्ञान बढिरहेको छ कि सूचना मात्र जम्मा भइरहेको छ? उनीहरू आफैँ सोचिरहेका छन् कि हरेक प्रश्नको उत्तर प्रविधिबाट खोजिरहेका छन्?यी प्रश्न नयाँ पुस्ताका लागि मात्र होइनन् । हामी सबैका लागि हुन् ।

त्यसैले नयाँ पुस्तालाई प्रविधिबाट टाढा राख्ने होइन, प्रविधिसँग सही तरिकाले बाँच्न सिकाउने कुरा महत्त्वपूर्ण हुन्छ ।

उनीहरूलाई सिकाउने मात्र होइन, उनीहरूबाट सिक्ने पनि हो ।

नयाँ पुस्ताको कुरा गरिरहँदा एउटा कुरा हामीले बिर्सनु हुँदैन- उनीहरूलाई हामीले मात्र सिकाउने होइन, उनीहरूबाट हामीले पनि धेरै सिक्नुपर्छ । हामीभन्दा अगाडिको पुस्ताले हामीलाई धेरै कुरा सिकायो । उनीहरूको अनुभव, संघर्ष, दुःख, सफलता र जीवनबाट हामीले धेरै कुरा पायौँ ।

तर ज्ञान सधैँ माथिबाट तलतिर मात्र बग्दैन ।

कहिलेकाहीँ १८ वर्षको युवाले ३० वर्षको मानिसलाई केही नयाँ कुरा सिकाइरहेको हुन्छ । कहिलेकाहीँ विद्यार्थीले शिक्षकलाई नयाँ प्रश्न दिइरहेको हुन्छ । कहिलेकाहीँ एउटा बच्चाले अभिभावकलाई संसार हेर्ने नयाँ दृष्टिकोण दिइरहेको हुन्छ । म आफैँले पनि यो कुरा धेरैपटक अनुभव गरेको छु । कुनै विषयमा उनीहरूले खोजेका सामग्री, पढेका कुरा, गरेका अनुसन्धान र बनाएका तर्कहरू सुन्दा मलाई उनीहरूलाई सिकाउनुभन्दा पहिले उनीहरूलाई सुन्नुपर्छ भन्ने लाग्छ ।नयाँ पुस्ताको प्रश्न गर्ने शैली, नयाँ कुरा प्रयोग गर्ने साहस, पुराना मान्यतालाई चुनौती दिने क्षमता र परिवर्तनसँग छिटो अनुकूल हुन सक्ने क्षमताबाट हामीले धेरै कुरा सिक्न सक्छौँ ।

तीन पुस्ताबीच संवाद किन आवश्यक छ ?

हामीले तीनवटा पुस्तालाई छुट्टाछुट्टै टापु बनाइदिएका छौँ । अघिल्लो पुस्तालाई लाग्छ—अहिलेका युवाले केही बुझ्दैनन् । हामीलाई लाग्छ—अघिल्लो पुस्ता पुरानो सोचमा छ । र हामी आफूभन्दा पछाडिको पुस्तालाई हेरेर भन्न थाल्छौँ, “आजका बच्चाहरू त झन् बिग्रिए ।” तर यदि यी तीन पुस्ताबीच संवाद भयो भने ?

अघिल्लो पुस्तासँग अनुभव छ । हामीसँग अहिलेको समयसँग जोडिएको अनुभव छ । नयाँ पुस्तासँग नयाँ ऊर्जा, नयाँ प्रश्न, नयाँ प्रविधि र नयाँ सम्भावना छ ।तीनवटालाई जोड्न सकियो भने समाजले ठूलो शक्ति प्राप्त गर्न सक्छ ।त्यसैले पुस्ताबीचको सम्बन्ध निर्देशनको मात्र होइन, संवादको हुनुपर्छ ।

ठूलाले सानालाई मात्र सिकाउने होइन । सानाले ठूलालाई मात्र चुनौती दिने पनि होइन ।एकअर्कालाई सुन्ने, बुझ्ने र आवश्यक कुरा एकअर्काबाट सिक्ने सम्बन्ध हुनुपर्छ ।

केही दिनअघि भाइहरूसँग घुम्न गएको एउटा सामान्य दिनको फोटो हेर्दै गर्दा मलाई फेरि यही कुरा सम्झना भयो ।

म भन्दा ८-१० वर्ष पछाडिको पुस्ताका ती भाइहरू मलाई आफ्नो साथी जस्तै मान्छन् । आफ्ना कुरा गर्छन् । आफ्ना योजना सुनाउँछन् । आफ्नो सोच भन्छन् ।उनीहरूका कतिपय कुरा सुन्दा म सहमत हुन्छु, कतिपयमा असहमत हुन्छु । तर उनीहरूसँग कुरा गरिरहँदा एउटा कुरा भने निरन्तर सिकिरहेको हुन्छु-

उनीहरूको उमेर समूहले यो समाजलाई कसरी हेर्छ ?
उनीहरूले कामलाई कसरी हेर्छन् ?
सम्बन्धलाई कसरी हेर्छन् ?
भविष्यलाई कसरी हेर्छन् ?
प्रविधिलाई कसरी प्रयोग गर्न खोजिरहेका छन् ?
र हामीले सामान्य ठानेका कुरालाई उनीहरूले किन प्रश्न गरिरहेका छन् ?
यो बुझ्नु मेरो लागि ठूलो सम्पत्ति हो ।

किनकि उनीहरूसँग घुम्नु भनेको केवल उनीहरूसँग समय बिताउनु होइन । कहिलेकाहीँ त्यो आफ्नो समाजलाई अर्को आँखाबाट हेर्ने अवसर हो । कहिलेकाहीँ आफूले बनाएको धारणामाथि पुनर्विचार गर्ने अवसर हो । र कहिलेकाहीँ आफूले आफूलाई नै सच्याउने अवसर पनि हो ।

म नयाँ पुस्ताका सबै कुरा सही छन् भन्दिनँ । उनीहरूमा कमजोरी छन् । आवेग छ । कतिपय निर्णय अपरिपक्व छन् । कतिपय ठाउँमा उनीहरूलाई अझै मार्गदर्शन चाहिन्छ ।तर उनीहरूलाई दोष लगाएर मात्रै त्यो कमजोरी सुधारिँदैन ।

उनीहरूलाई सुन्नुपर्छ । उनीहरूसँग संवाद गर्नुपर्छ । उनीहरूलाई विकल्प देखाउनुपर्छ । प्रश्न गर्न सिकाउनुपर्छ । गल्तीबाट सिक्न सक्ने वातावरण बनाउनुपर्छ ।

हामीले उनीहरूको निर्णय गरिदिने होइन । तर निर्णय गर्न सक्ने बनाउनु हाम्रो जिम्मेवारी हो ।हामीले उनीहरूको सपना रोजिदिने होइन । तर उनीहरूले आफ्नो सपना किन रोजिरहेका छन् भनेर सोच्न सक्ने बनाउनु हाम्रो जिम्मेवारी हो ।

हामीले उनीहरूलाई प्रविधिबाट टाढा राख्ने होइन । तर प्रविधिले उनीहरूलाई चलाउने होइन, उनीहरूले प्रविधिलाई चलाउन सक्ने विवेक दिनु हाम्रो जिम्मेवारी हो । र शायद नयाँ पुस्तालाई बुझ्ने सबैभन्दा सही तरिका पनि यही हो ।

उनीहरूलाई बदल्न खोज्नुअघि उनीहरूलाई सुन्ने ।
किनकि नयाँ पुस्ता केवल भोलिको समाज होइन ।
उनीहरू आजकै समाजको एउटा ठूलो हिस्सा हुन् ।

उनीहरूलाई बुझ्नु भनेको भविष्य बुझ्नु हो । उनीहरूसँग संवाद गर्नु भनेको भविष्यसँग संवाद गर्नु हो । र उनीहरूबाट सिक्न तयार हुनु भनेको समाजलाई निरन्तर नयाँ बन्ने अवसर दिनु हो ।

अन्ततः, हामीले नयाँ पुस्तालाई कस्तो बनाउने भन्ने प्रश्न मात्र पर्याप्त छैन । हामीले अर्को प्रश्न पनि सोध्नुपर्छ—

हामीले उनीहरूका लागि कस्तो समाज बनाइरहेका छौँ ? किनकि कुनै दिन यही पुस्ताले पछाडि फर्केर हामीलाई हेर्नेछ । त्यो दिन उनीहरूले हामीलाई के भनेर सम्झनेछन् ?

“हामीलाई केवल निर्देशन दिने पुस्ता ?”
“हामीलाई बुझ्न नचाहने पुस्ता ?”

वा-

“हामीलाई सुन्ने, हामीमाथि विश्वास गर्ने र हामीलाई आफ्नै बाटो खोज्न सहयोग गर्ने पुस्ता ?” शायद त्यो निर्णय आज हामीले गरिरहेका छौँ । र त्यसैले म नयाँ पुस्तालाई टाढाबाट हेरेर निष्कर्ष निकाल्नुभन्दा उनीहरूसँग बस्न, घुम्न, कुरा गर्न र उनीहरूलाई बुझ्न चाहन्छु । किनकि मैले उनीहरूसँग बिताएको समयबाट एउटा कुरा सिकेको छु । कहिलेकाहीँ समाजलाई बुझ्न धेरै अगाडि जानुपर्दैन । आफ्नोभन्दा केही वर्ष पछाडिको पुस्तासँग बसेर उनीहरूको कुरा सुने पुग्छ ।

त्यहाँ भविष्यको एउटा सानो तस्वीर देखिन थाल्छ । र त्यो तस्वीर राम्रो बनाउन उनीहरूलाई मात्र बदल्नुपर्ने होइन । हामीले पनि आफूलाई केही बदल्नुपर्ने हुन्छ । संयोगले आज युवा दिवसपनि सबैलाई शुभकामना ।

Bipin Biswas Rayamajhi

About the author

Bipin Biswas Rayamajhi

View all posts →